काठमाडौँ, कात्तिक १६ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पुनः विवादमा तानिएका छन्। उनले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसले देशभर चर्को आलोचना निम्त्याएको छ।
साहले लेखेको सो स्टाटसमा भारत, चीन र अमेरिकाजस्ता मुलुकलाई लक्षित गर्दै अशोभनीय शब्द प्रयोग गरिएको बताइएको छ। साथै उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका नामसमेत उल्लेख गर्दै आपत्तिजनक टिप्पणी गरेका थिए।
उक्त स्टाटस केही समयपछि उनले आफ्नै फेसबुकबाट हटाए पनि त्यसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरै प्रयोगकर्ताहरूले मेयरको शैलीप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक पदको मर्यादा पालन गर्न आग्रह गरेका छन्।
पछिल्लो समयमा बालेन नयाँ राजनीतिक दल खोल्ने वा रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको चर्चा चलिरहेको बेला यस्तो स्टाटस बाहिरिएपछि उनी रास्वपासँग पनि दूरीमा पुगेको विश्लेषण भइरहेको छ।
यस घटनापछि मेयर साहमाथि पुनः राजनीतिक र सामाजिक दबाब बढेको देखिन्छ। कतिपयले उनलाई सामाजिक जिम्मेवारी बिर्सिएको र आवेगमा आएका टिप्पणी नगरप्रमुखको छविसँग मेल नखाने प्रतिक्रिया दिएका छन्।
