महाधिवेशन विवाद बीच देउवाको हस्तक्षेप, विशेष महाधिवेशन रोक्न निर्देशन


महाधिवेशन विवाद बीच देउवाको हस्तक्षेप, विशेष महाधिवेशन रोक्न निर्देशन
  • नवकिरण
  • कार्तिक १८, २०८२

काठमाडौँ, कार्तिक १८ – नेपाली कांग्रेसमा महाधिवेशनको विवाद झन् तीव्र बन्दै गएको छ। यसबीच पार्टी सभापति शेरबहादुर देउवाले सिंगापुरबाटै नेताहरुलाई विशेष महाधिवेशनको तयारी रोक्न निर्देशन दिएका छन्।

उनी हाल श्रीमती डा. आरजु राणासँग सिंगापुरमा उपचारका क्रममा रहेका छन्। त्यहींबाट उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठोरलगायत नेताहरूसँग सम्पर्क गर्दै विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनको तयारी गर्न आग्रह गरेका हुन्।

देउवाले टेलिफोनमार्फत नेताहरुलाई भनेका छन्, “विशेष महाधिवेशन अहिले आवश्यक छैन, नियमित प्रक्रियाबाट अघि बढ्नुपर्छ।” उनका अनुसार, पार्टीभित्र हालको विवाद सहमतिको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने सभापतिको धारणा छ।

यसअघि दुई हजार चार सयभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर संकलनसमेत बुझाएका थिए। तर देउवाको यो सन्देशपछि संस्थापन पक्षले नियमित महाधिवेशनतर्फ ध्यान केन्द्रित गर्ने तयारी गरेको बुझिएको छ।

गत आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक पनि महाधिवेशनको मिति र स्वरूपबारे सहमति नजुटेपछि स्थगित भएको थियो। त्यसयता, संस्थापन र इतर पक्षबीच असहमति अझ प्रष्ट बनेको छ।

संस्थापन पक्षले आगामी वैशाख २५ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ भने डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले भने मंसिरभित्र नै महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्।

देउवाको सिंगापुरबाट आएको निर्देशनले अहिले कांग्रेसभित्र नयाँ समीकरण र बहसलाई तीव्र बनाएको छ।