कमलपोखरीमा सात घण्टाको राजनीतिक वार्ता, बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउँदै रवि?


कमलपोखरीमा सात घण्टाको राजनीतिक वार्ता, बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउँदै रवि?
  • नवकिरण
  • पौष ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा समझदारी नजिक पुगेको उनीहरू निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार यसपटकको निर्वाचनमा बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि बढाउने र त्यसपछिको चुनावमा रविलाई सहयोग गर्ने प्रारम्भिक सहमति भएको छ।

सोमबार राति रास्वपाका केन्द्रीय सदस्य असिम साहको कमलपोखरीस्थित कार्यालयमा करिब सात घण्टा लामो भेटवार्ता भएको थियो। सुरुमा दुवै पक्षका प्रतिनिधिसहित छलफल भए पनि पछि रवि र बालेनबीच लामो एकान्त संवाद भएको स्रोतको भनाइ छ।

उक्त छलफलमा एउटै राजनीतिक शक्ति बनाएर अघि बढ्ने, नेतृत्व र जिम्मेवारी कसरी बाँडफाँट गर्ने भन्ने विषयमा गम्भीर संवाद भएको बताइएको छ। बालेन रास्वपाको चुनाव चिह्न स्वीकार्न सकारात्मक देखिएका छन् भने पार्टी संरचना र नामबारे छलफल जारी रहेको जनाइएको छ।

भैरहवा कारागारबाट मुक्त भएपछि लामिछाने राजनीतिक संवादमा सक्रिय देखिएका छन्। उनले देश निर्माणका लागि आवश्यक परे आफू लचिलो हुन तयार रहेको संकेत दिँदै आएका छन्, जसको असर पछिल्लो भेटवार्तामा पनि देखिएको स्रोत बताउँछ।

भेटवार्ताको संयोजन गरेका असिम साहले संवादलाई सकारात्मक सुरुवातको संज्ञा दिएका छन्। उनका अनुसार रवि र बालेनको सहकार्यले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने सन्देश दिएको छ।