गोरखा, जेठ ७ – गोरखाबाट आरुघाटतर्फ जाँदै गरेको बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको बसको ठक्करबाट घटनास्थलमै ज्यान गएको गोरखा प्रहरीले जनाएको छ।
ग२ख ९२५ नम्बरको बसबाट ओर्लिने क्रममा सोही बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
उक्त दुर्घटनामा बालिकाकी आमा २० वर्षीया विनिता सुर्खेती गम्भीर घाइते भएकी छन्। उनको गोरखा प्रदेश अस्पतालमा उपचार भइरहेको गोरखा नगरपालिका–४ की कार्यवाहक वडाध्यक्ष निसा रोकाले बताइन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।