सर्लाही, जेठ १० – सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बिहान करिब ८ बजेतिर पूर्वतर्फ गइरहेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोटरसाइकलमा सवार सर्लाही बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानी र अर्का सुमित यादव गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो। प्रारम्भिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल पठाइएकोमा मोहमद कैफ मिकरानीको दिउँसो १२ बजे उपचारका क्रममा मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
अर्का घाइते सुमित यादवको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर घटनास्थलमै फेला परेको छ भने चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।