झापा, जेठ १७ – अविरल वर्षापछि आएको बाढीका कारण झापामा पूर्वपश्चिम राजमार्ग र कोशी लोकमार्ग अवरुद्ध भएका छन्। निर्माणाधीन सडकखण्डका डाइभर्सनहरू बगाउँदा ठाउँ–ठाउँमा यातायात प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए।
उनका अनुसार झापाको काली खोलाले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको केही भाग अवरुद्ध भएको हो। धुलाबारी नजिकको कल्भर्ट क्षेत्रको डाइभर्सन बगाएपछि अस्थायी रूपमा माटो पुरेर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।
बुट्टावारी–चारआली सडकखण्डमा समेत बाढीले डाइभर्सनमा क्षति पु¥याएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा निर्माणाधीन सडकमा पानी जमेर समस्या उत्पन्न भएको बताइएको छ।
यस्तै, माइखोला बाढीले झापा गाउँपालिका–२ मा बस्ती प्रवेश गरेको छ। बाढीका कारण २२ घरपरिवार विस्थापित भएका छन्। केही घरमा बाढीको पानी पसेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रबाट स्थानान्तरणका लागि प्रहरी र स्थानीय जनप्रतिनिधिको टोली परिचालित गरिएको छ।
मनसुन सुरु भएको एक दिन नबित्दै आएको लगातारको वर्षाले पूर्वी नेपालका मुख्य सडकहरू प्रभावित बनेका छन्। कोशी लोकमार्गसमेत अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन्।
प्रहरीले जनताको सुरक्षालाई प्राथमिकता दिँदै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य तीव्र पारेको जनाएको छ। स्थानीय प्रशासनले सतर्क रहन र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको छ।