काठमाडौं, जेठ १८ — निजी सवारीसाधनलाई यात्रु बोक्न दिने गरी नियमावली ल्याउन लागिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले आइतबार काठमाडौंको माइतीघरदेखि बिजुली बजारसम्म कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको छ, जसले यात्रुहरूलाई सास्ती भएको छ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागी व्यवसायीहरूले संघीय सरकारको सवारी ऐन २०४९ विपरीत सातै प्रदेश सरकारहरूले निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधा दिन लागिएको भन्दै आपत्ति जनाएका छन्।
व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावली खारेज गर्न माग गरेका छन्। उनीहरूको भनाइमा उक्त नियमावलीले सम्पूर्ण सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त बनाउने खतरा उत्पन्न भएको छ।
नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वारले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन बन्द गर्दै देशव्यापी आन्दोलन सुरू गर्ने चेतावनी दिएका छन्। “माग पूरा नभएसम्म हामी सार्वजनिक सवारी साधन चलाउने छैनौं,” उनले भने।
व्यवसायीहरूको भनाइमा प्रदेश सरकारहरूको नियमावलीले सार्वजनिक यातायात क्षेत्र विस्थापित हुने स्थितिमा पुगेपछि आफूहरू आन्दोलनमा उत्रन बाध्य भएका हुन्।