काठमाडौँ, जेठ २२ – प्रतिनिधि सभाको बिहीबार (आज)को बैठक विपक्षी दलहरूको विरोधका कारण स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले बैठक सुरू भएको घोषणा गरेलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएपछि सदन अवरुद्ध भएको थियो। सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्ने अवसर दिने भन्दै शान्त रहन आग्रह गरे पनि विपक्षीहरू निरन्तर विरोधमा उत्रिएका थिए।
विरोध नथामिएपछि सभामुखले बैठक कार्यसूचीमा रहेका सबै विषय हटाउँदै बैठकलाई स्थगित गर्ने निर्णय गरेका हुन्। अब बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको छ।
भिजिट भिसा प्रकरणमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन्। यता कांग्रेस र एमालेले भने गृहमन्त्रीलाई सदनमा आफ्नो धारणा राख्न पाउने अवसर दिनुपर्ने बताएका छन्।
सदन अवरोधकै बीच सत्तापक्षका केही सांसदहरू उठेर आफूहरूले पनि आफ्नो भनाइ राख्न पाउनु पर्ने माग गरेका थिए।