एनआरएनएको माग: पूर्ण अधिकारसहितको नागरिकता देऊ


एनआरएनएको माग: पूर्ण अधिकारसहितको नागरिकता देऊ
  • नवकिरण
  • जेष्ठ २६, २०८२

काठमाडौं, जेठ २६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकसरहको अधिकार सुनिश्चित हुने नागरिकता दिन माग गरेको छ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघका प्रतिनिधिहरूले नागरिकता सम्बन्धी छलफलका क्रममा सो माग राखेका हुन्।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अहिले प्रदान हुँदै आएको गैरआवासीय नागरिकताको सीमित अधिकारप्रति असन्तुष्टि जनाउँदै भने, “हामीलाई सम्पत्ति अधिकार, अंशबन्डा र कानुनी मान्यता प्राप्त हुने गरी नागरिकता दिनुपर्छ।”

पूर्वअध्यक्ष रविना थापाले पनि गैरआवासीय नागरिकता लिए पनि मालपोत कार्यालयले नचिन्ने जस्ता समस्याले धेरै एनआरएनहरू प्रभावित भएको बताइन्।

छलफलको क्रममा समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीलाई दिने नागरिकताबारे सरकारको स्पष्ट नीति आवश्यक रहेको बताए। उनले सरकारबाट प्रस्ताव आएमा नागरिकता ऐन संशोधन विधेयकमा समेटेर प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

गैरआवासीय नेपालीहरूलाई मूल देशसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले नागरिकताको व्यवस्था गर्दा उनीहरूले भोग्दै आएका व्यवहारिक समस्यालाई सम्बोधन गर्नुपर्ने सहभागीहरूको धारणा थियो।