विराटनगर, जेठ ३१ – मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मा माछा मार्ने क्रममा करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बू रहेका छन्।
प्रहरीका अनुसार शनिबार बिहान करिब ९ः४० बजे घर नजिकैको मदेली खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा दम्पतीको घटनास्थलमै मृत्यु भएको हो।
पूर्णबहादुरले माछा मार्नका लागि नजिकैको बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए। त्यसक्रममा उनीहरू दुवैजना करेन्टको चपेटामा परेका थिए।
मृत शरीरलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।