काठमाडौं, जेठ ३१ – सभामुख देवराज घिमिरेले वर्तमान निर्वाचन पद्धति र शासन प्रणालीबारे व्यापक बहस आवश्यक रहेको बताएका छन्।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले अहिलेको निर्वाचन प्रणालीमा विद्यमान कमजोरी, आचारसंहिता, समावेशिता, राजनीतिक दलहरूको भूमिका र शासन प्रणालीका दोषबारे गम्भीर बहस र विमर्श आवश्यक रहेको उल्लेख गरे।
सभामुख घिमिरेले भने, “अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौं, जनमुखी बनाउन सक्छौं भन्नेबारे बहस आवश्यक छ। समस्या शासन प्रणालीको हो कि निर्वाचन प्रणालीको, वा आचारसंहितासँग गाँसिएको हो, वा राजनीतिक दलहरूको भूमिकासँग जोडिएको हो भन्ने कुरामा स्पष्ट छलफल हुनुपर्छ।”
उनले निष्पक्ष, पारदर्शी र सबैको सहभागितामूलक निर्वाचन आवश्यक रहेको भन्दै यस्तो प्रणालीबाट निर्वाचित प्रतिनिधिहरू स्थिर र परिणाममुखी ढंगले काम गर्न सक्ने वातावरण बनाउनु पर्ने बताए।
कार्यक्रममा उनले नेपालमा समावेशी प्रणालीको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै दुईवटा आवधिक निर्वाचनमार्फत प्राप्त अनुभवहरूलाई पनि समिक्षा गर्नुपर्ने बताए। साथै, पूर्ण समानुपातिक वा बहुमतीय प्रणाली कुन अधिक उपयुक्त हुन्छ भन्नेबारे पनि गहन छलफलको खाँचो रहेको धारणा राखे।