काठमाडौं, असार ३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतबाट धरौटीमा रिहा भएपछि न्यायप्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनले नेपालको न्याय प्रणालीमाथि अझै पनि दृढ विश्वास रहेको बताए।
काठमाडौं जिल्ला अदालतले मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। धरौटी बुझाएर अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मिश्रले भने, “राज्यले अन्याय गरे पनि अदालतले आफ्नो विवेक प्रयोग गरेर न्याय दिँदो रहेछ भन्ने विश्वास जागेको छ।”
उनले राज्यबाट दोषी करार गरिने गरी लगाइएका विभिन्न आरोपहरूलाई दुखद भन्दै ती आफैंमा अन्यायपूर्ण भएको टिप्पणी गरे।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। सो क्रममा दुई जनाको मृत्यु भएको घटनामा मिश्रले दिएको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुर अन्तरगत सजायको मागसहित मुद्दा दर्ता गरिएको थियो।
उक्त प्रदर्शनका योजनाकार मानिएका दुर्गा प्रसाईं भने हाल थुनामा छन्।
रवीन्द्र मिश्र आफैं अदालतमा उपस्थित भई धरौटी बुझाएर रिहा भएका हुन्।