हेटौंडा, असार ४ — विपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा बुधबार साँझ लेदो सहितको पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज साँझ करिब ५ बजेको समयमा सडकको माथिल्लो भागबाट आएको पहिरोले राजमार्गको दुबै तर्फको सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
पहिरोका कारण दर्जनौं सवारी साधन आवतजावत गर्न नसकी बाटोमै रोकिएका छन्। तत्कालै डोजर तथा प्रहरी टोली घटनास्थलमा खटाइएको र सडक खुलाउने प्रयास तीव्र गतिमा भइरहेको ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक सुनिल धाजुले जानकारी दिए।
अहिलेसम्म मानवीय क्षति नभएको बताइएको छ भने पहिरो हटाएर राजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। यात्रुहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।