रास्वपाले स्थापना दिवसमा रवि लामिछानेको पक्षमा हस्ताक्षर संकलन


रास्वपाले स्थापना दिवसमा रवि लामिछानेको पक्षमा हस्ताक्षर संकलन
  • नवकिरण
  • अषाढ ७, २०८२

काठमाडौं असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तीनौं स्थापना दिवस पार्टी सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर संकलन गर्दै मनाएको छ।

काठमाडौंको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाले लामिछानेलाई सरकारको “प्रतिसोधी सोच”ले कानुनी फन्दामा पारेको आरोप लगाउँदै समर्थनस्वरूप हस्ताक्षर संकलन गरेको हो।

यसअघि विभिन्न कार्यक्रमका साथ स्थापना दिवस मनाउँदै आएको रास्वपाले यसपटक सभापति थुनामा रहेका कारण सडकबाटै विरोध जनाउने निर्णय गरेको हो।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सरकारले पार्टीको चमत्कारिक उदयसँग डराएर सभापतिलाई कानुनी प्रक्रियामा फसाएको दाबी गरे। “रास्वपाको गति रोक्न सकिन्छ कि भनेर सरकार अत्तालिएको हो,” उनले भने।

वाग्लेले यस अभियानमा लाखौं हस्ताक्षर संकलन गरिने जानकारी दिँदै समर्थन जुटाउन चन्दा संकलनसमेत सुरु गरिएको जनाए।

रास्वपाले भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै र लामिछानेको पक्षमा जनसमर्थन जुटाउने अभियान निरन्तर सञ्चालन गरिने जनाएको छ।