खाली खुट्टा हिँड्दै काठमाडौं आएका अभियानकर्मी नवराज बोहराको प्रधानमन्त्रीसँग भेट


खाली खुट्टा हिँड्दै काठमाडौं आएका अभियानकर्मी नवराज बोहराको प्रधानमन्त्रीसँग भेट
  • नवकिरण
  • अषाढ ८, २०८२

काठमाडौं, असार ८ – कर्णाली क्षेत्रको सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षण जस्ता विषयमा जनचेतना फैलाउन सुर्खेतबाट खाली खुट्टा हिँड्दै काठमाडौं आएका अभियानकर्मी नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

गत जेठ ४ गते सुर्खेतबाट यात्रा सुरु गरेका बोहरा ३१ औं दिनमा असार ३ गते काठमाडौं आइपुगेका थिए। सोही दिन प्रधानमन्त्रीसँग भेट गर्न खोजेपनि कार्यव्यस्तताका कारण आइतबार मात्रै बालुवाटारमा भेट हुन सकेको बोहराको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीलाई भेट्ने क्रममा बोहराले आफ्नो अभियानका अनुभव, बालबालिकाले भोगिरहेका समस्या, स्वास्थ्य उपचार नपाएका जनताको अवस्था लगायतका विषयहरूबारे जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले बोहराको अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै पवित्र उद्देश्यका साथ अभियान सञ्चालन गर्न सुझाव दिए। उनले शरीरलाई अत्यधिक पीडा नदिई स्वास्थ्य र परिवारको समेत ख्याल गर्दै अगाडि बढ्न आग्रह गरेका थिए।

भेटपछि बोहराले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाएकोमा खुसी व्यक्त गरे। साथै, पहिलो चरणको अभियान सकिएको जनाउँदै अब जुत्ता लगाउने, दाह्री काट्ने र अभियानको स्वरूप केही परिमार्जन गर्ने बताए।