दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्न बाध्य स्थानीय


दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्न बाध्य स्थानीय
  • नवकिरण
  • अषाढ १२, २०८२

दमौली, असार १२ – तनहुँको सदरमुकाम दमौलीमा पानीको चरम अभाव भएको छ। खानेपानीको धारामा आपूर्ति ठप्प भएपछि स्थानीयवासीहरू सार्वजनिक धारा र कुवामा पानी लिन घन्टौँ लाइनमा बस्न बाध्य भएका छन्।

व्यास नगरपालिका–४ मा रहेको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आएको धारामा मंगलबार साँझदेखि पानी नआएपछि व्यास–२ र ३ का बासिन्दाले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिरधारा जस्ता स्थानमा पानीको लागि भीड लागाउने गरेका छन्।

स्थानीय उपभोक्ता देव गजमेरका अनुसार बिहानैदेखि रातिसम्म मानिसहरू पानीको लागि लाइनमा बस्नुपर्ने अवस्था छ। “बुधबार साँझ ९ बजेसम्म पनि करिब १०० जना मानिस कुवा र धारामा लाइनमा थिए,” उनले भने।

मुग्लिन–पोखरा सडक विस्तारको क्रममा अस्थायी रूपमा राखिएको खानेपानी पाइप हटाएर स्थायी जडान गरिँदा पानी वितरणमा समस्या आएको हो। दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले निर्माणकार्यका कारण पानी आपूर्ति प्रभावित भएको जानकारी दिए।

उनका अनुसार जिआइ पाइप जडानको काम भइरहेको छ। “बिहान सबेरैदेखि राति १० बजेसम्म काम गरिरहेका छौँ, पाइप जडानपछि क्रङ्क्रिट गरिसकेपछि मात्रै पानी आपूर्ति पुनः सुचारु हुनेछ,” श्रेष्ठले बताए।

स्थानीयवासीले छिटो समाधानको माग गर्दै सम्बन्धित निकायलाई आवश्यक ध्यान दिन आग्रह गरेका छन्।