बुटवल, असार १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले संसदबाट निकालिए पनि रास्वपा सडकमै संसद चलाउन तयार रहेको बताएका छन्।
रुपन्देही क्षेत्र नं. ३ को शुद्धोधनमा सभापति रवि लामिछानेको पक्षमा सञ्चालन गरिएको हस्ताक्षर अभियानको उद्घाटन कार्यक्रममा बोल्दै वाग्लेले जनताको मुद्दा छाडेर कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे।
उनले रवि लामिछानेलाई सहकारी प्रकरणको नाममा जेलमा राखिएकोप्रति आक्रोश व्यक्त गर्दै, “सरकारले राजनीतिक प्रतिशोधको रूपमा रविमाथि षड्यन्त्र गरिरहेको छ,” भने।
वाग्लेले रविमाथि लगाइएका आरोपहरूको तुलना अन्य राजनीतिक नेतासँग गर्दै दोहोरो मापदण्ड अपनाइएको आरोप पनि लगाए। “१८ करोडको आरोप लागेका पूर्व प्रधानमन्त्रीलाई एक घण्टामै सफाइ दिइन्छ, तर रविलाई भने जिल्लैपिच्छे ३–३ वटा मुद्दा लगाएर उल्झनमा पारिएको छ,” वाग्लेले भने।
उनले न्यायप्रणालीप्रति विश्वास रहेको उल्लेख गर्दै अन्ततः रविले सफाइ पाउने विश्वास व्यक्त गरे। वाग्लेले रविलाई हाल भैरहवाको टिनको छानामुनि ४२ डिग्री तापक्रममा थुनिएको उल्लेख गर्दै सरकारको व्यवहार प्रति कडा आलोचना गरे।
“रविलाई दुःख दिएको सरकारले जनताको सहानुभूति बढाइरहेको छ,” उनले भने, “हामी बलियो नबनेसम्म पुराना दलहरू गल्नेवाला छैनन्।”
वाग्लेले थपे, “सरकार रविको लोकप्रियताबाट त्रसित भएको छ। यही कारणले उनीमाथि षड्यन्त्र गर्दै थुनामा राखिएको हो।”
उनले माओवादीप्रति संकेत गर्दै कोही–कोही दलले बहादुरीपूर्वक आत्मसमर्पण गरेको टिप्पणी गरे।
रुपन्देही–३ मा हुन लागेको उपचुनावमा रास्वपाले जित्ने गरी उपयुक्त उम्मेदवार चयन गर्ने जानकारी पनि उनले दिए।
वाग्लेले हस्ताक्षर अभियान ‘मिसन २०८४’ अन्तर्गत देशभर सञ्चालित कार्यक्रम पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा भइरहेको बताए।
उनका अनुसार रास्वपाका १९ जना सांसद नै अहिले सत्ता पक्षको तुलनामा भारी छन् र पुराना दलहरू यही कारणबाट आतिएका छन्।