काठमाडौं, असार १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीमा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे आन्तरिक छलफल थालेको छ।
पार्टीको विधानअनुसार रास्वपामा १२१ जना केन्द्रीय सदस्य रहनुपर्ने व्यवस्था छ। तर, हालसम्म ६७ जना मात्र केन्द्रीय सदस्य रहेका छन्। त्यसैले बाँकी पदहरूमा नयाँ सदस्य मनोनयन गर्ने प्रस्ताव अघि बढाइएको हो।
रास्वपाका प्रवक्ता मनिष झाले उक्त प्रस्तावबारे पुष्टि गर्दै भने, “अहिले रास्वपामा जोडिन चाहने धेरै हुनुहुन्छ। महाधिवेशन अझै ८/९ महिना बाँकी छ। त्यसअघि केहीलाई जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ।” तर उनले यो प्रस्ताव हाललाई केवल प्रारम्भिक छलफलको चरणमा रहेको बताए।
रास्वपाका अर्का नेताका अनुसार विभिन्न दलमा जिम्मेवारीमा रहेका र पूर्वसांसदहरू समेत पार्टीमा जोडिन इच्छुक छन्। त्यस्ता व्यक्तिहरूलाई केन्द्रीय समितिमा ल्याउने विषयमा पनि विचार भइरहेको छ।
२५ जना केन्द्रीय सदस्य थप्ने विषयमा २०८१ सालको चैत २७ गते बसेको सचिवालय बैठकमा समेत छलफल भएको थियो। पछिल्लो पटक असार १४ गते बसेको संसदीय दलको बैठकमा पनि यो प्रस्तावले प्रवेश पाएको थियो।
यद्यपि, केही नेताहरूले महाधिवेशन नजिकिएकोले हाल केन्द्रीय सदस्य संख्या नथप्ने सुझाव पनि दिएका छन्।
रास्वपाले आउँदो फागुन ७, ८ र ९ गते महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।