नेपालमा लगानीको सम्भावनाबारे मलेसियन व्यवसायी र प्रधानमन्त्री ओलीबीच छलफल


नेपालमा लगानीको सम्भावनाबारे मलेसियन व्यवसायी र प्रधानमन्त्री ओलीबीच छलफल
  • नवकिरण
  • अषाढ २१, २०८२

काठमाडौं, असार २१ – नेपालमा लगानीको सम्भावना र अवसरहरूबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले शनिबार भेटवार्ता गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा २० सदस्यीय टोली सहभागी थियो। उनीहरूले नेपालमा नयाँ उद्यमको स्थापना, अर्थपूर्ण व्यवसायिक साझेदारी र दुई देशबीचको सम्बन्ध विस्तारका लागि भ्रमण गरेको जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले नेपाल सरकार विदेशी लगानीलाई प्रोत्साहन गर्ने दिशामा कानुनी र संरचनात्मक सुधार गर्दै आइरहेको उल्लेख गर्दै नेपालमा लगानी गर्न प्रतिनिधिमण्डललाई आग्रह गरे। आगामी दिनमा आवश्यक पर्ने सुधार तथा सहजीकरणका विषयमा सरकार सधैं व्यवसायीहरूसँग सहकार्य गर्न तयार रहेको समेत जानकारी दिए।

प्रतिनिधिमण्डलले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको छ। भेटमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा तथा विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे पनि विस्तृत छलफल भएको थियो।

मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा नेपाल आएको उक्त प्रतिनिधिमण्डल तीनदिने भ्रमणका लागि असार १८ गते काठमाडौं आएको हो। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा लगायतको उपस्थिति रहेको थियो।