काठमाडौं, असार २६ – संघीय संसद् भवन परिसरमा ड्रोन खसेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक जना टेकस्पायर कलेजका प्राध्यापक र बाँकी चार जना विद्यार्थी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार पक्राउ पर्नेमा प्राध्यापक विजय बाबु रेग्मी र विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन्।
असार २४ गते बिहान साढे ९ बजेतिर संसद् भवनमा एक ड्रोन खसेको अवस्थामा फेला परेको थियो। निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि सुरक्षा निकाय सतर्क बनेको थियो र संसद्मै यसको विषयमा छलफलसमेत उठेको थियो।
अनुसन्धानका क्रममा टेकस्पायर कलेजले विद्यार्थीहरूलाई ड्रोन निर्माण सम्बन्धी अभ्यास कार्य दिएको र परीक्षणकै क्रममा ड्रोन सिग्नल हराएर संसद् भवन क्षेत्रमा खसेको खुल्न आएको छ। विद्यार्थीहरूले परीक्षण असार २३ गते राति गरेको बताइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।