भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी पाँच वर्षीया बालिकाको मृत्यु


भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी पाँच वर्षीया बालिकाको मृत्यु
  • नवकिरण
  • अषाढ ३२, २०८२

चितवन, असार ३२ – चितवनको भरतपुर अस्पताल परिसरमा एक दुखद घटना घटेको छ। अस्पतालमा कार्यरत कर्मचारीको पाँच वर्षीया छोरीको सेफ्टिक ट्यांकीमा खस्दा मृत्यु भएको हो।

अस्पतालको सी ब्लक नजिक रहेको ठूलो सेफ्टिक ट्यांकीमा असार ३० गते दिउँसो करिब ४ बजे बालिका अन्जना मगर खसेकी थिइन्। खेल्दाखेल्दै ट्यांकीको ढकनी नजिक पुगेकी अन्जना अचानक भास्सिएर खसेको बताइएको छ।

घटनापछि तत्काल उद्धार गरिएकी बालिकालाई गम्भीर अवस्थामै आईसीयूमा राखेर उपचार थालिएको थियो। तर, चिकित्सकहरूको प्रयास असफल बनाउँदै मंगलबार साँझ ६:४० बजे उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

अन्जना भरतपुर अस्पतालमा कार्यरत विकास मगरकी छोरी थिइन्।

बालबालिका अस्पताल परिसरमा समेत सुरक्षित नभएको यस्ता घटनाले देखाएको छ। अस्पताल परिसरभित्रको संरचनाको अवस्था, सुरक्षा सतर्कता र अनुगमनप्रति समेत प्रश्न उठ्न थालेको छ। स्थानीयहरू र बाल अधिकारकर्मीहरूले यस्तो लापरवाहीप्रति गम्भीर ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन्।