ठमाडौं, असार ३२ – अमेरिकाले आफ्नो अध्यागमन नीति कडा बनाउँदै लगेपछि नेपाली नागरिकहरूको डिपोर्ट हुने क्रम अझै जारी छ। पछिल्लो तथ्यांक अनुसार, हालै अमेरिकाबाट थप १९ जना नेपालीलाई डिपोर्ट गरेर स्वदेश फर्काइएको छ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार जेठ २५ गते ३७ नेपाली एकैपटक चार्टर्ड फ्लाइटमार्फत नेपाल ल्याइएपछि, त्यस यता नियमित उडानमार्फत एक–दुई जनाका दरले १९ जना नेपाली डिपोर्ट भइसकेका छन्।
रिजालका अनुसार, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेयता त्यहाँको आप्रवासन नीति कडा बनाइएको छ, जसका कारण सामान्य कानुनी अपराधमा समातिएकाहरू समेत डिपोर्ट भइरहेका छन्। डिपोर्ट हुनेहरू प्रायः तल्लो मार्ग (South/Central America हुँदै) अमेरिका प्रवेश गर्न खोज्नेहरू हुन्।
गिरोहबारे चुपचाप
डिपोर्ट भएर आएका नेपालीहरूमध्ये अधिकांशले मानव तस्करीमा संलग्न एजेन्ट वा गिरोहबारे प्रहरीलाई कुनै पनि सूचना दिएका छैनन्। मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB) ले विमानस्थलमै उनीहरूलाई सोधपुछ गरेको भए पनि ३७ जना डिपोर्टीहरू सबै चुपचाप रहे र “भोली दिन्छौं” भनेर रातारात सम्पर्कविहीन भएका थिए।
ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, मानव तस्करीको अनुसन्धानलाई अगाडि बढाउनका लागि सोधपुछ गरिएको हो। “तर सूचना नआएकाले अनुसन्धान अघि बढाउन अप्ठ्यारो भइरहेको छ,” उनले भने।
चिनजानकै भरोसा र ठगी
ब्यूरोमा कार्यरत एक वरिष्ठ अनुसन्धान अधिकारीका अनुसार, यस्ता नेपालीहरूलाई अमेरिका पुर्याउनेहरू प्रायः गाउँघरका चिनजानका व्यक्ति हुन्छन्। ती एजेन्टहरूले पहिले पनि विदेश पठाएको अनुभव भएको हुँदा विश्वास गर्न सजिलो हुने र उजुरी गर्न नेपालीहरू हिच्किचाउने गर्छन्।
प्रहरीका अनुसार, अमेरिका अवैध रूपमा जाने क्रम बढ्दो छ। डिपोर्ट भएकाहरूले ५० लाखदेखि ९० लाख रुपैयाँसम्म तिरेका थिए। उनीहरूलाई मध्यपूर्वी देशहरू, युरोप वा दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका पुर्याइन्थ्यो।
ट्रम्प प्रशासनपछि डिपोर्ट संख्या बढ्यो
सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि सुरु भएको कडा आप्रवासन नीतिका कारण हालसम्म मात्र १९७ जना नेपाली अमेरिका डिपोर्ट भएर फर्किसकेका छन्।