सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते


सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते
  • नवकिरण
  • श्रावण १, २०८२

सर्लाही, साउन १ – सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटना बिहीबार बिहान न्यु माँ राजदेवी खाद्य उद्योग परिसरमा भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार रौतहटबाट आएको ना ६ ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहटको वृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवानलाई करेन्ट लागेको थियो।

उच्च भोल्टेज (११ हजार भोल्ट) को विद्युत् प्रसारण लाइनको सम्पर्कमा आउँदा गम्भीर घाइते भएका उनलाई तत्काल हरिवनस्थित नमूना अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा सोही ट्रकमा काम गर्ने मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान पनि गम्भीर घाइते भएका छन्। उनीहरू हाल नमूना अस्पतालमै उपचाररत छन्।