रुपन्देही-३ मा उम्मेदवार चयन प्रक्रिया सुरु, रास्वपाले निवेदन लिन थाले


रुपन्देही-३ मा उम्मेदवार चयन प्रक्रिया सुरु, रास्वपाले निवेदन लिन थाले
  • नवकिरण
  • श्रावण ७, २०८२

काठमाडौं, साउन ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। बुधबारदेखि इच्छुक व्यक्तिहरूबाट आवेदन संकलन गर्न थालेको हो।

पार्टीका अनुसार उम्मेदवार बन्न चाहनेले साउन ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुकले रास्वपाको मोबाइल एप प्रयोग गरी निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

२१ साउनपछि २२ गते प्रारम्भिक नामावली प्रकाशित गरिनेछ भने साउन २३ र २४ गते दाबी–विरोधको समय छुट्याइएको छ। प्रारम्भिक उम्मेदवारहरूसँग साउन २५ गते छलफल हुनेछ।

त्यसपछि साउन २७ देखि भदौ ११ सम्म ‘लिडरसीप एकेडेमी’, ‘पोलिटिकल प्रोक्सिमिटी’ र समावेशिताजस्ता मापदण्डका आधारमा छलफल र मूल्याङ्कन प्रक्रिया चलाइनेछ। प्रारम्भिक निर्वाचन प्रक्रिया भदौ १२ र १३ मा सम्पन्न हुनेछ भने अन्तिम उम्मेदवारको टुंगो भदौ १५ गते लगाइनेछ।

निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तोकेको छ। यो उपनिर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधनपछि रिक्त बनेको स्थानमा हुन लागेको हो।