भक्तपुर, साउन ९ – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८, बोडे सिन्टीटारमा झुन्डिएको अवस्थामा मृत फेला परेका दुई किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरको भुइँतलामा बिहीबार बिहान करिब ६:४५ बजे १५ वर्षीया मेनुका कँडेल र १३ वर्षीया सिर्जना कँडेल मृत अवस्थामा भेटिएका थिए। उनीहरूको शव नाइलनको डोरी प्रयोग गरी फलामको डन्डीमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।
शवलाई बिहीबार राति काठमाडौं मेडिकल कलेज, दुवाकोटमा पोस्टमार्टमका लागि पठाइएको हो। घटनास्थलमा राति ११ बजे मृतकका आफन्तहरू पुगेपछि आवश्यक प्रक्रिया पूरा गरेर शव अस्पताल लगिएको प्रहरीले जनाएको छ।
दुवै किशोरी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भई हाल करिब १५ दिनअघि मात्र सो घरमा डेरा लिएर बस्न थालेका थिए। उनीहरूले आफूहरू कलेज पढ्ने विद्यार्थी भएको भन्दै कोठा लिएको बताइएको छ।
प्रहरीका अनुसार, मृतक दिदीबहिनी तीन साता अघिदेखि भारतको मुम्बईबाट सम्पर्कविहीन थिए। बाबुआमाका अनुसार उनीहरू मुम्बईको मीरा भाइन्दर क्षेत्रबाट हराएका थिए।
मृत्यु हुनुभन्दा केही दिनअघि किशोरीका बाबुआमा एक अनलाइन टेलिभिजनमार्फत छोरीहरूको खोजी गरिरहेका थिए। सिगास अनलाइनमा दिएको अन्तर्वार्तामा उनीहरूले छोरीहरूलाई सीसीटिभी नभएको होटलमा काम लगाइएको आरोप लगाएका थिए।
आफ्नो आमालाई ‘बैंगलोर गइरहेकी छु’ भन्ने सन्देश पठाएर सम्पर्कविहीन भएका दिदीबहिनीको तीन दिनपछि मृत्युको खबर आएको हो।
हालसम्म घटनाको यकिन कारण नखुलेको प्रहरीले जनाएको छ भने विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने बताइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।