काठमाडौं, साउन ९ – भिजिट भिसा प्रकरणलाई लिएर संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को व्यवहारप्रति नेपाली कांग्रेसले गम्भीर प्रश्न उठाएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाको विरोधलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्दै सभापति रवि लामिछानेलाई सिधा निशाना बनाए।
“भिजिट भिसामा विदेश जाने, उतैको नागरिकता लिने, उतै घरजम गर्ने अनि फर्किएर नेपालमा पार्टी खोलेर उपप्रधानमन्त्रीसमेत बन्ने अभ्यास हामीले देखिसकेका छौं,” घिमिरेले तिखो व्यङ्ग्य गर्दै भने, “यस्तो अभ्यास सफल भइसकेको देशमा भिजिट भिसाको विषयमा यति धेरै चिन्ता गर्नु आवश्यक छैन।”
उनले रास्वपाले झण्डै दुई महिनादेखि संसद्मा भिजिट भिसा प्रकरणबारे असन्तुष्टि जनाउँदै आएको प्रसंग उठाउँदै प्रश्न गरे, “जुन भिजिट भिसा आज तपाईंहरूलाई यहाँसम्म ल्यायो, अहिले त्यसैमा यति धेरै चिन्ता किन?”
घिमिरेले विशेषगरी लामिछानेप्रति लक्षित गर्दै भने, “भिजिट भिसामा गएर उतैको नागरिकता लिने कार्य कुनै पनि अन्तर्राष्ट्रिय कानुनअनुसार राम्रो मानिँदैन। तर नेपालमा त यस्ता अभ्यासमार्फत उपप्रधानमन्त्रीसम्म बन्ने अवसरसमेत प्राप्त भएको छ।”
उनले थपे, “आज जुन पार्टीले भिजिट भिसालाई मुद्दा बनाइरहेको छ, उसकै थुप्रै सांसदहरू विगतमा त्यही भिजिट भिसाको बाटो हुँदै यहाँ आइपुगेका छन्। त्यसैले भिजिट भिसा बहसमा यति गहिरो चिन्ता देखाउनु दोहोरो चरित्र हो।”
उनको यो टिप्पणीपछि प्रतिनिधिसभामा केहीबेर हलचलसमेत देखिएको थियो। घिमिरेको व्यङ्ग्य कांग्रेसको रास्वपामाथिको असन्तोष मात्रै नभएर, नेपाली राजनीति भित्रको दोहोरो मापदण्डप्रति संकेत पनि हो भन्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।