काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीले गरेको आफ्नो सदस्यता खारेजको निर्णयप्रति कडा असन्तोष जनाउँदै उक्त कदमलाई ‘अविवेकी र आवेगमा आएको निर्णय’ भन्दै आलोचना गरेकी छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो ४५ वर्षको राजनीतिक यात्रामा एमालेप्रतिको आस्था र प्रतिबद्धता अझै अटुट रहेको बताइन्।
एमालेको सूर्य चिह्नसहित जननेता मदन भण्डारीको ब्यानरअगाडि उभिएर सम्बोधन गरेकी भण्डारीले पार्टीको निर्णयप्रति खेद व्यक्त गर्दै आफू विधिपूर्वक सदस्यता नवीकरण गरिसकेको दाबी गरिन्। “राष्ट्रपतिको कार्यकाल सकिएपछि म पार्टीमा आबद्ध भएर अघि बढ्ने निर्णयमा पुगेँ, त्यसै अनुसार सदस्यता नवीकरण गरें”, उनले भनिन्।
उनका अनुसार २०८२ साल असार १४ गते, जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आफूले एमालेको सदस्यता नवीकरण सार्वजनिकरूपमा घोषणा गरिसकेको थिइन्। तर, पार्टीको केन्द्रीय कमिटीले उक्त नवीकरणलाई अस्वीकार गर्दै सदस्यता खारेज गरेकोमा उनले असहमति जनाएकी हुन्।
भण्डारीले यो निर्णयले नेपालको संविधान, ऐनकानुन र लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन गरेको बताइन्। “पार्टीमा आबद्ध भएर राजनीतिमा संलग्न हुने मेरो संवैधानिक अधिकारमाथि अंकुश लगाउने यस्तो कदमले पार्टीको प्रतिष्ठा मात्र होइन, सैद्धान्तिक आधार नै कमजोर बनाउँछ”, उनको भनाइ थियो।
उनले एमाले निर्माणमा आफू लगायत हजारौं कार्यकर्ताको योगदान स्मरण गराउँदै पार्टी निर्माणका असल परम्परा र मूल्यहरूप्रति प्रतिबद्ध रहेको बताइन्। साथै, उनले पार्टी पंक्तिलाई शान्त, गम्भीर र विवेकपूर्ण ढंगबाट अघि बढ्न अपिल पनि गरिन्।
“मेरो उद्देश्य कुनै पद प्राप्त गर्नु होइन, बरु एमालेको सिद्धान्त र मूल्यको संरक्षण गर्दै राष्ट्र र जनताको सेवामा सक्रिय रहनु हो”, भण्डारीले भनिन्। उनले आफूले राष्ट्रपतिका रूपमा जिम्मेवारी पुरा गरेपश्चात् राजनीतिक जीवनमा पुनः सक्रिय हुने निर्णय लिएर पार्टीमा फर्किएको स्पष्ट पारिन्।
पत्रकार सम्मेलनमार्फत उनले एमालेभित्रको असन्तुलन, आवेग र व्यक्तिवादी निर्णयलाई सच्याउन आग्रह गर्दै “सङ्गठनलाई सुदृढ र एकताबद्ध बनाउन सबैले योगदान दिनुपर्छ” भन्ने सन्देशसमेत दिइन्।
एमाले नेतृत्वसँगको पछिल्लो दूरी र विवादका बीच भण्डारीको यो सार्वजनिक धारणा एमालेभित्र गहिरिँदो गुटबन्दी र आन्तरिक असहमतिको संकेतको रूपमा हेरिएको छ। आगामी दिनमा भण्डारीको भूमिकाले पार्टी राजनीति कतातिर मोडिन्छ भन्ने चासो थपिएको छ।