काठमाडौँ, साउन ११ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राम्रोसँग सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ता संस्थाहरूलाई नेपाल विद्युत उपभोक्ता महासंघको जिम्मामा दिन आग्रह गरेका छन्।
शनिबार काठमाडौँमा सम्पन्न सामुदायिक विद्युत उपभोक्ता महासंघको २१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्ता संस्थाले रोजगार, लगानी र लेखापरीक्षण लगायत सम्पूर्ण कार्य व्यवस्थापन नेपाल विद्युत प्राधिकरणमार्फत गरिनुपर्ने धारणा राखे।
“संस्था आफैंले राम्रोसँग काम गर्न नसक्ने अवस्था आएमा त्यसको सम्पूर्ण जिम्मेवारी महासंघलाई दिनुपर्छ,” मन्त्री खड्काले भने, “सरकार र प्राधिकरणले पहिले नै यस्तै आग्रह गरिसकेका छन्।”
कार्यक्रममा मन्त्री खड्काले सरकारको प्राथमिकता देशभित्रै उत्पादन भएको विद्युत उपभोग गर्दै बाँकी विद्युत निर्यात गर्ने रहेको उल्लेख गर्दै यस अभियानमा महासंघले सहकार्य गर्नुपर्ने बताए।
हाल नेपाल विद्युत उपभोक्ता महासंघमा देशभरका करिब ३०० सामुदायिक विद्युत उपभोक्ता संस्था आबद्ध छन्। ऊर्जा क्षेत्रमा पारदर्शिता, दक्षता र उपभोक्तामैत्री सेवा प्रवाह गर्न यस्तो संरचनात्मक पहल आवश्यक भएको मन्त्रीको तर्क थियो।