चितवनको चनौलीमा विद्युत् आपूर्ति समस्या समाधानका लागि हितेन्द्रदेव शाक्य स्वयं फिल्डमा


चितवनको चनौलीमा विद्युत् आपूर्ति समस्या समाधानका लागि हितेन्द्रदेव शाक्य स्वयं फिल्डमा
  • नवकिरण
  • श्रावण १२, २०८२

चितवन, साउन १२ – चितवनको चनौली वितरण केन्द्रमा देखिएको विद्युत् आपूर्ति समस्यालाई समाधान गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं फिल्डमै पुगेका छन्। चनौली क्षेत्रमा लोड व्यवस्थापनमा समस्या आएपछि प्राधिकरणको प्राविधिक टोलीसहित शाक्य चितवन पुगेका हुन्।

शाक्यले सोमबार बिहानै चनौलीमा निरीक्षण गर्दै समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। उनले स्थानीय समस्या प्रत्यक्ष बुझेर आजैबाट विद्युत् आपूर्ति नियमित गर्न प्राविधिक टोलीलाई सक्रिय बनाएका छन्।

“विद्युत् आपूर्तिमा आएको बाधा हटाउन म आफैं चितवन आइपुगेको हुँ,” शाक्यले बताए, “आज बेलुकासम्म समस्या समाधान गरी भोलिदेखि नियमित आपूर्ति सुरु हुनेमा आशावादी छौं।”

प्राधिकरणका अनुसार चनौली ३३/११ केभी सवस्टेशनमा बसेनीबाट आउने ३३ केभी लाइनको बाटो साँघुरो हुनु र अत्यधिक लोडका कारण समस्या उत्पन्न भएको हो। क्षमता ३०० एम्पिएर मात्र भए पनि ४५० एम्पिएरसम्मको लोड हुँदा लाइनले धान्न नसकेको जनाइएको छ।

सिंचाइका लागि विद्युत् माग अत्यधिक बढेको कारण ट्रान्सफर्मर तथा लाइनमा समेत असर परेको हो। समस्याको समाधानका लागि चनौलीको लोडलाई अन्य सवस्टेशनमा सार्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, पूर्वी चितवनको हर्दीमा २४ मेगावाट क्षमताको ट्रान्सफर्मर चार्ज गरिएको र आजैबाट लोड सार्ने काम पनि सम्पन्न हुने जानकारी दिइएको छ।

शाक्यले भरतपुर वितरण केन्द्रको निरीक्षणपछी जनकपुरसम्म पुगेर त्यहाँको डिप बोरिङ जडान र सम्भावित प्राविधिक चुनौतीको अवस्थाबारे बुझ्ने तयारी रहेको बताएका छन्। मधेस प्रदेशमा डिप बोरिङको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि गरिसकेका थिए।

चितवनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न बसेनी १३२ केभी सवस्टेशनबाट चनौलीसम्म नयाँ ३३ केभी लाइनको निर्माण अन्तिम चरणमा रहेको र निर्माण सम्पन्न भएपछि समस्या स्थायी रूपमा हल हुने प्राधिकरणको भनाइ छ।