सिन्धुलीबाट एकै परिवारका १६ जना बेपत्ता, मोबाइलको अन्तिम लोकेशन रामेछापमा देखियो


सिन्धुलीबाट एकै परिवारका १६ जना बेपत्ता, मोबाइलको अन्तिम लोकेशन रामेछापमा देखियो
  • नवकिरण
  • श्रावण १२, २०८२

सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट एकै परिवारका १६ जना अचानक बेपत्ता भएका छन्। गाउँपालिकाका प्रवक्ता रेगन राज थापाका अनुसार सोमबार बिहानदेखि उर्मिला हायुसहित उनको पूरै परिवार सम्पर्कविहीन बनेको हो।

बेपत्ता हुनेमा उर्मिला हायुसँगै उनका ६ छोरी, ६ छोरा, एक बुहारी, एक नातिनी र एक ज्वाइँ रहेका छन्। उनीहरू सम्पर्कविहीन बनेपछि गाउँमा त्रास फैलिएको छ भने प्रहरीले खोजतलास सुरु गरिसकेको छ।

“घटनास्थलमा केही अप्राकृतिक देखिएन, सबैजना मिलेर कतै गएका जस्तो देखिन्छ,” प्रवक्ता थापाले बताए, “तर कुन उद्देश्यले गएका हुन् भन्ने स्पष्ट छैन।”

उनीहरूको मोबाइल ट्र्याक गर्दा अन्तिम लोकेशन रामेछाप जिल्लामा देखिएको प्रहरी स्रोतको भनाइ छ। “मोबाइल टावर रामेछापमा देखिएको छ, फोन भने अहिलेसम्म सम्पर्कमा आएको छैन,” थापाले जानकारी दिए।

गाउँपालिका र प्रहरीले सम्बन्धित नातागोता तथा सम्भावित गन्तव्य स्थानहरूमा खोजी अभियान जारी राखेका छन्। घटनाबारे थप जानकारी आउन बाँकी छ।