सिमरा, साउन १७ – बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ का १३ वर्षीय सन्दीप मुखियाको विषाक्त पानीमा डुबेर मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। शनिबार बिहान मृतक बालकको शव तेर्स्याएर स्थानीयले उद्योगअगाडि प्रदर्शन गरेका हुन्।
शुक्रबार बालक सन्दीप सिमरा–५ स्थित सिरसिया कुलोमा डुबेका थिए, जहाँ गणपति घ्यू, नन्दन घ्यू र अशोक स्टिल जस्ता उद्योगहरूबाट निस्कने प्रदूषित र रासायनिक पानी प्रशोधन नगरी सोही कुलो हुँदै बग्ने गर्छ।
स्थानीयले उद्योगहरूको लापरवाहीकै कारण बालकको मृत्यु भएको आरोप लगाउँदै जीतपुरसिमरा–३ स्थित उद्योग क्षेत्रअगाडि मृतकको आमासहित शवसहित प्रदर्शन गरेका हुन्।
शवको पोष्टमार्टम वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको थियो। डाक्टरको रिपोर्टअनुसार सन्दीपको मृत्यु विषाक्त पानीकै कारण भएको पुष्टि भएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले पीडित परिवार, जनप्रतिनिधि र उद्योग प्रशासनबीच छलफलको प्रयास भइरहेको जानकारी दिएका छन्। “शव तेर्स्याएर आक्रोशित स्थानीय उद्योगअगाडि धर्नामा बसेका छन्,” डीएसपी जोशीले भने, “हम्रो प्रयास पीडित पक्ष, उद्योग र स्थानीय सरकारबीच सहमति कायम गर्नका लागि हो।”
उद्योगको लापरवाहीबाट बारम्बार सार्वजनिक स्वास्थ्य र वातावरणमा असर परेको भन्दै स्थानीयले पटकपटक गुनासो गरिरहेका छन्।
यता, जितपुरसिमरा उपमहानगरपालिकाले शनिबार प्रदूषित पानी बग्ने स्थानमा डोजर चलाएर ह्युमपाइप हटाउने र खाल्डो पुर्ने काम गरेको छ। नगरपालिकाले यसअघि पनि उद्योगको पर्खाल भत्काएर यस्ता पाइप हटाएको भए पनि उद्योगहरूले फेरि प्रयोग गर्दै आएको आरोप छ।
स्थानीय सरकार र प्रशासनको आदेश अवज्ञा गर्दै उद्योगहरूले अव्यवस्थित रूपमा प्रदूषित पानी छोड्दै आएकोप्रति जनप्रतिनिधि तथा नागरिक दुवै आक्रोशित छन्। स्थानीयको माग छ, बालकको मृत्युमा दोषी उद्योगलाई कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ।