विद्या भण्डारीको पक्षमा उभिएका थप तीन एमाले नेतालाई स्पष्टीकरण


विद्या भण्डारीको पक्षमा उभिएका थप तीन एमाले नेतालाई स्पष्टीकरण
  • नवकिरण
  • श्रावण १८, २०८२

काठमाडौं, साउन १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा देखिएका नेकपा (एमाले) का तीनजना नेताविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।

एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी समिति सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

उनीहरूमाथि पार्टीविरोधी गतिविधि तथा सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएको भन्दै अनुसन्धानसहित अनुशासन आयोगमार्फत आवश्यक कारबाही प्रक्रिया थालिएको महासंघले जनाएको छ।

महासंघले पार्टीभित्र विद्या भण्डारीको पक्षमा देखिएको गतिविधिलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबिना पार्टीको अस्तित्व नै कल्पना गर्न नसकिने निष्कर्ष पनि सार्वजनिक गरेको छ।

यसअघि पनि एमालेले भण्डारीको पक्षमा खुलेर काम गर्ने युवा संघ र अन्य भ्रातृ संगठनका केही नेतामाथि स्पष्टीकरण सोधिसकेको छ। पार्टी अनुशासनलाई सुदृढ बनाउने उद्देश्यले यस्तो कदम चालिएको बताइएको छ।