काठमाडौं, साउन १८ – सहिद परिवारमाथि भेदभाव गरिएको गुनासो गर्दै नेकपा (माओवादी केन्द्र)का नेता शंकर लामा आइतबार आयोजित कार्यक्रममै रोए ।
पार्टीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित २३औँ बोत्ले सहिद दिवस कार्यक्रममा बोल्ने क्रममा लामाले टाठाबाठा नेताका परिवारलाई मात्र सम्झिने तर सर्वसाधारण सहिदहरूलाई बिर्सने प्रवृत्तिले दुःख दिएको भन्दै भावुक बने।
‘टाठाबाठा नेताका आफन्त सहिद भए सम्झिन्छन्, हामीजस्ता सर्वसाधारणका परिवारको कसैले वास्ता गर्दैन,’ उनले भने, ‘सहिद पनि अब वर्गीय हुन थालेको छ।’
उनका अनुसार दोलखाको शैलुङस्थित बोत्लेमा २०५९ साल साउन १८ गते शाही सेनाले आक्रमण गर्दा १५ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । त्यही घटनामा उनकी श्रीमती पनि ज्यान गुमाएकी थिइन्।
‘हामीले परिवर्तनका लागि बलिदान दिएका हौं, तर आज हाम्रै बलिदान बिर्सेर गुटबन्दीमा रमाउने प्रवृत्तिले पार्टी कमजोर भएको छ,’ उनले मञ्चबाट गुनासो गरे।
कार्यक्रममा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, मातृका यादवलगायत शीर्ष नेताहरूको उपस्थिति रहे पनि लामाको गुनासोलाई कसैले तत्काल प्रतिक्रिया जनाएनन्।
लामाले सहिद र घाइतेको विवरण संकलन गरेर समानता र सम्मानको वातावरण बनाउन आग्रह गरे। ‘डकुमेन्ट बनाइयो भने मात्र पीडित परिवारको मन शान्त हुन्छ,’ उनले भने, ‘समान व्यवहार नभएसम्म सहिद परिवारभित्र पीडा घट्दैन, पार्टी बलियो हुदैन।’
शंकर लामाको भावुक अभिव्यक्तिले पार्टीभित्र रहेको असन्तुष्टि र विभेदको अनुभूति सतहमा ल्याएको देखिन्छ।