काठमाडौं, साउन १८ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई खुला पत्र पठाउँदै पछिल्ला निर्णयहरू पार्टी विधानविपरीत भएको भन्दै तुरुन्त सच्याउन चेतावनी दिएका छन्।
राणाले अध्यक्ष लिङ्देनलाई आइतबार पठाएको पत्रमा पछिल्लो समयमा पार्टीभित्र भएको निष्कासन, पदमुक्ति र मनोयनहरू स्वेच्छाचारी ढंगले भएको बताएका छन्। पार्टी एकता र विधिसम्मत प्रक्रिया उल्लङ्घन गर्दै लिङ्देनले नेताहरूलाई कारबाही गर्दै हिँडेको उनले आरोप लगाएका छन्।
उनले लेखेका छन्, “पार्टीको हित र एकताविपरीत स्वेच्छाचारी निर्णय हुनु अत्यन्त दु:खद र निन्दनीय छ। पार्टी विधान र लोकतान्त्रिक अभ्यासको सम्मान गर्दै यस्ता गल्तीहरू तत्काल सच्याउनुपर्छ।”
राणाले असार २५ मा अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई, तथा साउन २ गते उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गर्ने निर्णय एकलौटी ढंगले भएको उल्लेख गर्दै त्यसलाई अमान्य भनेका छन्।
त्यस्तै, जिल्लास्तरमा अधिवेशन चलिरहेको बेला अध्यक्षले केन्द्रीय निर्वाचन समितिको निर्देशनविपरीत आफूखुसी पर्यवेक्षक तोकेको आरोप पनि पत्रमा उल्लेख छ। “केन्द्रीय कार्यसम्पादन समितिमा छलफल नगरी नाम तोक्नु लोकतान्त्रिक मान्यताको उल्लङ्घन हो,” उनले भनेका छन्।
सबैभन्दा गम्भीर आरोप भने अध्यक्ष लिङ्देनका स्वकीय सचिव छत्र खडायतमाथि लागेको छ। राणाका अनुसार, खडायतले पत्रकार एवं पार्टी नेता राजु गैरेमाथि शारीरिक आक्रमण गरेका थिए। उक्त घटनाले पार्टीभित्र र बाहिरका शुभेच्छुकहरूलाई गम्भीर चिन्तामा पारेको उनको भनाइ छ।
महामन्त्री राणाले यी सबै समस्याको समाधान खोज्न तत्काल केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाक्न आग्रह गरेका छन्। उनले निष्पक्ष र सहभागीपूर्ण महाधिवेशन सम्पन्न गर्नका लागि अहिलेको एकलौटी शैली अन्त्य गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
राप्रपाभित्र नेतृत्व शैलीलाई लिएर उठेको यो असन्तुष्टि पार्टीको भविष्यका लागि निर्णायक बन्ने संकेत देखिएको छ।