काठमाडौं, साउन २५ – बैंकको ब्याजदर घट्दा र विद्युत् बिक्री आम्दानी बढ्दा साहस ऊर्जाको नाफा गत आर्थिक वर्षमा दोब्बरभन्दा बढी पुगेको छ।
८६ मेगावाट क्षमताको सोलुखोला जलविद्युत् आयोजना सञ्चालनरत कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, गत वर्ष यसको खुद नाफा ९० करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा नाफा ४२ करोड ३ लाख रुपैयाँ मात्र थियो।
गत वर्ष साहस ऊर्जाले २ अर्ब ६४ करोड रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ४४ करोड रुपैयाँ आम्दानीभन्दा उल्लेख्य वृद्धि हो। यसैबीच, वित्तीय लागत अघिल्लो वर्षको १ अर्ब १६ करोड रुपैयाँबाट घटेर गत वर्ष ८० करोड ५ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ छ। साथै, कम्पनीले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा समेत लगानी गर्ने निर्णय गरिसकेको छ।
साहस ऊर्जाले हाल कायम चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने साधारणसभाको निर्णय कार्यान्वयनमा अघि बढाइरहेको छ। यस कम्पनीको हालको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँमा कारोबार भइरहेको छ।