कोरिया रोजगारीका लागि पहिलो दिनमै १८ हजार बढीको आवेदन


कोरिया रोजगारीका लागि पहिलो दिनमै १८ हजार बढीको आवेदन
  • नवकिरण
  • श्रावण २६, २०८२

काठमाडौं, साउन २६ – रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जान इच्छुक नेपालीहरूबाट पहिलो दिनमै १८ हजार ८८८ आवेदन दर्ता भएका छन्।

साउन २६ गतेदेखि ३१ गतेसम्म खुला गरिएको सन् २०२५ को भाषा परीक्षा आवेदनको पहिलो दिन सोमबार बेलुकी ५ बजेसम्म यति संख्यामा आवेदन पुगेको इपिएस शाखाले जनाएको छ।

शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षाबाट करिब ५ हजार ३०० जना मात्रै छनोट हुनेछन्। यसमा उत्पादनमूलक क्षेत्रमा ३ हजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८०० जनाको कोटा छ।

कामदारको मागअनुसार छनोट संख्या घटबढ हुनसक्ने र एक जनाले एकै क्षेत्रमा मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको शाखाले स्पष्ट पारेको छ। साथै, भाषा परीक्षा पास गरेपछि मात्र रोजगारी पक्का नहुने पनि जानकारी दिइएको छ।