नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा नयाँ दस्तुर लागू, साना सवारीको शुल्क घट्यो


नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा नयाँ दस्तुर लागू, साना सवारीको शुल्क घट्यो
  • नवकिरण
  • श्रावण २९, २०८२

काठमाडौँ, साउन २९ – सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोगका लागि तोकिएको दस्तुर संशोधन गर्दै साना सवारी साधनको शुल्क घटाएको छ भने ठूला र भारी सवारीको दस्तुर बढाएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार सुरुङमार्ग प्रयोग गर्दा समय, इन्धन र मर्मत खर्चमा करिब ७० प्रतिशतसम्म बचत हुने बताइएको छ।

नयाँ दस्तुरअनुसार कार, भ्यान, जीप, पिकअप र माइक्रोबस प्रवेश शुल्क ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ। मिनिबस, मिनिट्रक र टिपरको प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरिएको छ। बस तथा ट्रक प्रवेशमा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ। भारी सवारीका लागि प्रवेशमा ६०० र बाहिरिँदा २५० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।

सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीका अनुसार दस्तुर वैज्ञानिक अध्ययन र सवारी साधनमा लाग्ने वास्तविक खर्चको आधारमा तय गरिएको हो। उनका अनुसार सुरुङमार्ग प्रयोग गर्दा इन्धन, टायर र समयको बचतको हिसाबले औसतमा करिब २,८०० रुपैयाँ बचत हुने बताइएको छ।

निर्देशिकाअनुसार सुरुङमार्ग प्रयोग अनिवार्य नभई स्वेच्छिक हुनेछ। पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी, अत्यधिक प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थ बोकेको सवारी र तोकिएको भार–आकारभन्दा बढी भएका सवारीलाई प्रवेशमा रोक लगाइनेछ।

सुरुङमार्गमा अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ। ओभरटेक, युटर्न, आकस्मात् लेन परिवर्तन, हर्न बजाउने जस्ता कार्य विशेष परिस्थितिबाहेक निषेध हुनेछ। हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्नेछ।

२.६ किलोमिटर लम्बाइको यो सुरुङमार्ग प्रयोगमा आएपछि काठमाडौँ–सिस्नेखोलाको दूरी ८ किलोमिटरले छोटिनेछ। परियोजना हाल ९३ प्रतिशत पूरा भइसकेको छ र पुस–माघभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।