काठमाडौं, साउन ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट स्थानान्तरण गरी काठमाडौंको नख्खु कारागारमा राखिएको छ।
कारागार प्रशासनका अनुसार उनलाई छुट्टै ब्लकमा नभई अन्य कैदीकै ब्लकमा राखिएको हो। जेलर भीमराज कोइरालाले भने, “उहाँलाई अन्य कैदीजस्तै राखिएको छ। ढिलो भएको कारण छुट्टै कोठा उपलब्ध गराउन सकिएन, अहिलेलाई सबैसँगै बस्ने व्यवस्था गरिएको छ।”
लामिछानेलाई नख्खुस्थित सिआरसी ब्लकमा राखिएको छ जहाँ हाल ४२२ जना कैदीहरू छन्।
शनिबार साँझ उनलाई बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको थियो। विमानस्थलबाट सिधै नख्खु कारागार पुर्याइएपछि बाहिर कार्यकर्ता र समर्थकहरूको ठूलो भिड लागेको थियो। दिउँसोदेखि नै उनीहरूको जमघट कारागार वरिपरि देखिएको थियो।
लामिछाने कारागार पुगेपछि कार्यकर्ताहरूले नाराबाजी गरेका थिए भने भिड नियन्त्रणका लागि प्रहरी बल तैनाथ गरिएको थियो।