काठमाडौं, भदौ ४ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुग्ने भएका छन्। कारागार स्रोतका अनुसार प्रचण्ड आज साँझ ६ बजे लामिछानेसँग भेट गर्नेछन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा रविलाई उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। त्यस बेला रविविरुद्ध लागेको आरोपहरू निस्तेज पार्न प्रचण्डले सक्रिय भूमिका खेलेका थिए। हाल पनि उनले लामिछानेमाथि षड्यन्त्र भएको बताउँदै आएका छन्।
यसअघि सत्तापक्षले उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने तयारी गरेको थियो। त्यसपछि प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएर सत्तापक्षको प्रयासलाई असफल पार्ने र मुद्दा जनतासम्म पुर्याउने निर्णय लिएका थिए।
सहकारी ठगी मुद्दामा थुनामा रहेका लामिछानेलाई हालै रुपन्देही कारागारबाट नख्खु कारागारमा सारिएको हो। स्वास्थ्य परीक्षणमा उनलाई भिटामिन डीको कमी देखिएको चिकित्सकहरूले बताएका छन्।