काठमाडौं, भदौ १८ – दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल’ले केन्द्रीय भेला आह्वान गरेको छ ।
संयोजक प्रसाईंले बुधबार विज्ञप्ति जारी गर्दै भदौ २० र २१ गते भक्तपुरमा भेला आयोजना हुने जानकारी दिएका छन् । बिहान १०ः३० बजे सुरु हुने उक्त भेलामा संस्थापक सदस्यदेखि सचिवालय सदस्यसम्मका सबै तहका पदाधिकारीलाई अनिवार्य सहभागी हुन आग्रह गरिएको छ ।
उनका अनुसार वडा, पालिका, जिल्ला र अञ्चलस्तरका अध्यक्ष–सचिव, विभागीय समिति प्रमुख, केन्द्रीय सदस्य र सल्लाहकार समिति समेतलाई भेलामा समेटिनेछ ।
प्रसाईं हालै तीनकुनेमा भएको राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेपछि रिहा भएका थिए । रिहापछि उनले नयाँ दल गठनको घोषणा गर्दै संगठन विस्तारका गतिविधि थालेका छन् ।