पार्टी काममा फर्किए प्रचण्ड, पदाधिकारी बैठक बोलाउने योजना


पार्टी काममा फर्किए प्रचण्ड, पदाधिकारी बैठक बोलाउने योजना
  • नवकिरण
  • भाद्र ३१, २०८२

काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि पार्टीको दैनिक गतिविधिमा सक्रिय भएका छन्।

जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वर र इटहरीमा भएको प्रहरी दमनपछि १९ जनाको ज्यान गएपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए। आन्दोलन थप चर्किएपछि सेनाले उनलाई सिंहदरबारबाट उद्धार गरेर सुरक्षित स्थानमा राखेको थियो।

माओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार परिस्थिति केही शान्त बन्दै गएसँगै प्रचण्ड सोमबारदेखि पार्टी कार्यमा फर्किएका हुन्। अब उनले पार्टी कार्यालय पेरिसडाँडाको निरीक्षण गर्ने र क्षतिग्रस्त संरचनाबारे जानकारी लिने कार्यक्रम तय गरेका छन्।

यस्तै उनले केही दिनमै पदाधिकारी बैठक आह्वान गरेर पछिल्लो राजनीतिक परिस्थितिबारे विस्तृत समीक्षा गर्ने तयारी गरेका छन्।