जनकपुरधाम, असोज ३ – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफू कुनै पनि हालतमा पदत्याग नगर्ने स्पष्ट पारेका छन्। संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता र संविधानको रक्षा गर्ने दृढ अठोट दोहोर्याए।
उनले भने, “म केही साथीको चाहना वा कुनै षड्यन्त्रका आधारमा राजीनामा दिन्नँ। संसदमा विश्वासको मत नपाए मात्रै पद छोड्छु।”
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा संघीयताले सिर्जना गरेका भौतिक संरचनामा क्षति नहोस् भन्ने भावनाले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि हाल आफू दृढतापूर्वक पदमै रहने मुख्यमन्त्री सिंहको भनाइ छ।
दश वर्षे माओवादी जनयुद्धको क्षतिभन्दा बढी विनाश दुई दिनको आन्दोलनले पुर्याएको उल्लेख गर्दै उनले मधेसी जनतालाई आफ्नो बलिदानबाट प्राप्त संघीयतालाई जोगाउन एकताबद्ध हुन आह्वान गरे।
सिंहले आन्दोलनमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै संघीयता कमजोर नहोस् भन्ने सुनिश्चितताका लागि आफू निरन्तर संघर्षरत रहने बताए।