अन्तरिम सरकार असंवैधानिक ढंगले गठन भयो : प्रवक्ता महत


अन्तरिम सरकार असंवैधानिक ढंगले गठन भयो : प्रवक्ता महत
  • नवकिरण
  • आश्विन ५, २०८२

काठमाडौं, असोज ५ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले हालै बनेको अन्तरिम सरकार संविधानअनुरूप बन्न नसकेको टिप्पणी गरेका छन् ।

आइतबार बिहान महाराजगञ्जस्थित आफ्नै जलेको घरमा पत्रकार सम्मेलन गर्दै उनले संसदमार्फत अनुमोदन गरेर अन्तरिम सरकारलाई संवैधानिक बनाउन सकिने भए पनि त्यसो नभएको बताए ।

उनले भने, “अन्तरिम सरकार बनेको छ, तर संविधानसम्मत ढंगले बनेको छैन । संसदमार्फत अनुमोदन गर्न सकिन्थ्यो, दुर्भाग्यवश त्यो भएन ।”

डा. महतले वर्तमान राजनीतिक घटनाक्रमलाई लोकतान्त्रिक व्यवस्थामाथिको आक्रमणको रूपमा चित्रण गर्दै कमजोरी भए पनि समाधान केवल कानुन र संवैधानिक बाटाबाटै खोज्नुपर्नेमा जोड दिए ।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा उभिएर मात्र सुशासन र सुधार सम्भव छ । “नेतृत्वका कमीकमजोरी हटाउन कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्छ । अन्य विकल्प न्यायोचित हुँदैन,” उनले स्पष्ट पारे ।

युवा पुस्ता लोकतान्त्रिक मूल्यमा आस्थावान भएकाले अस्वाभाविक गतिविधि र लोकतन्त्रविरोधी प्रवृत्ति लामो समय टिक्न नसक्ने महतको विश्वास छ ।

छानबिन, सत्यतथ्य पत्ता लगाउने र दोषीमाथि कारबाही आवश्यक रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्यमा आक्रमण रोक्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

“दलभित्र सबैजना भ्रष्ट छैनन्, देश र जनताको लागि इमानदारीपूर्वक काम गर्ने पनि धेरै छन् । गलत भएकालाई कानुनअनुसार कारबाही हुनुपर्छ, मूल्यांकन भने जनताले नै गर्छन्,” महतले भने ।