आयोग अध्यक्ष कार्कीको निष्पक्षतामाथि प्रश्न, छानबिन प्रक्रियामै विवाद


आयोग अध्यक्ष कार्कीको निष्पक्षतामाथि प्रश्न, छानबिन प्रक्रियामै विवाद
  • नवकिरण
  • आश्विन १४, २०८२

काठमाडौं, असोज १४ – जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि निष्पक्षतामाथि प्रश्न उठेको छ।

विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्कीले आन्दोलन जारी रहँदा सामाजिक सञ्जालमार्फत आन्दोलनको पक्षमा अभिव्यक्ति दिएको भन्दै अहिले उनको नेतृत्वमा हुने छानबिन निष्पक्ष नहुने भन्दै आलोचना बढेको छ। उनले राजनीतिक दलका शीर्ष नेताहरूविरुद्ध कठोर टिप्पणी गरेको तथ्य सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो।

यसैबीच, मानवअधिकार एलाइन्सले विज्ञप्ति जारी गर्दै आयोगको निष्पक्षता सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। एलाइन्सले आयोग अध्यक्षकै सार्वजनिक भनाइले छानबिन प्रक्रियामा पूर्वाग्रह देखिने खतरा बढाएको बताउँदै यसले आयोगको विश्वसनीयतामा प्रश्न उठाएको टिप्पणी गरेको छ।

एलाइन्सले साथै जेलबाट विभिन्न अपराधमा सजाय पाएका व्यक्ति अझै स्वच्छन्द रूपमा बाहिरै रहेको, शान्ति र सुरक्षाको सुनिश्चितता कमजोर देखिएको, र मानवअधिकार उल्लंघनका घटनाहरू बढ्न सक्ने चिन्ता समेत व्यक्त गरेको छ।

यस्तै, गृह मन्त्रालयले असोज ९ गते सार्वजनिक गरेको विज्ञप्तिप्रति पनि एलाइन्सले असन्तोष प्रकट गरेको छ। सो विज्ञप्तिले आयोगको प्रतिवेदन नआएसम्म नियमित कानूनी संयन्त्रबाट कारबाही नगर्ने भनिएको छ, जसले फौजदारी न्याय प्रणाली कमजोर बनाउने र दण्डहीनतालाई बढावा दिने चेतावनी एलाइन्सले दिएको छ।

एलाइन्सले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाटलगायतका आपराधिक घटनामाथि प्रभावकारी अनुसन्धान रोक्नु मुलुकी अपराध संहिता र फौजदारी कार्यविधि संहिताविपरीत रहेको भन्दै सरकारलाई तुरुन्तै निर्णय सच्याउन आग्रह गरेको छ।