काठमाडौं, असोज १४ – बडादसैंको आठौँ दिन अर्थात् महाअष्टमीमा सोमबार बिहानैदेखि गोरखा कालिका मन्दिरमा भक्तजनको ठूलो घुइँचो लागेको छ।
धार्मिक तथा ऐतिहासिक मान्यता प्राप्त यस शक्तिपीठमा आज विशेष पूजाआजा साथै बलि चढाउने परम्परा अनुसार भक्तहरू बिहानैदेखि लामबद्ध भएका हुन्।
मन्दिर परिसरमा दिउँसो २ बजेदेखि सरकारी तर्फबाट बलि दिने कार्यक्रम सुरु हुनेछ भने त्यसपछि सर्वसाधारणले बोका, राँगा र भेडा लगायतका पशु बलि दिने अवसर पाउने व्यवस्था मिलाइएको छ।
गोरखा मात्र नभई काठमाडौं, तनहुँ, चितवन, लमजुङ लगायतका जिल्लाबाट समेत भक्तजन गोरखा कालिका मन्दिरमा दर्शनका लागि आएका छन्। यहाँ पूजाआजा र बलि चढाउँदा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।
जिल्ला कै प्रमुख शक्तिपीठ मानिने गोरखा कालिका मन्दिरमा यस अवसरमा धार्मिक उत्साह र भक्ति झनै प्रकट भएको देखिन्छ।