असोज १७ देखि २१ सम्म भारी वर्षाको उच्च सम्भावना, मौसमविद्को चेतावनी


असोज १७ देखि २१ सम्म भारी वर्षाको उच्च सम्भावना, मौसमविद्को चेतावनी
  • नवकिरण
  • आश्विन १५, २०८२

काठमाडौं, असोज १४ – त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक डा. विनोद पोखरेलले यस वर्ष पनि असोज महिनामा पोहोरजस्तै भीषण वर्षा हुने उच्च सम्भावना रहेको चेतावनी दिएका छन्।

उनका अनुसार अक्टोबर ३ देखि ७ (असोज १७–२१) सम्म लगातार तीनदेखि चार दिनसम्म ‘भारी’ वर्षा हुनसक्ने प्रक्षेपण विभिन्न मौसम मोडेलले देखाएको छ।

“फोरकास्ट गलत ठरोस् भन्ने सबैको चाहना हुन्छ, तर पोहोर सालको असोजमा जस्तै ठूलो वर्षा हुने संकेत यसपटक पनि देखिएको छ,” उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्।

डा. पोखरेलले विशेषगरी कृषकहरूलाई सचेत रहन आग्रह गर्दै भने, “भारी वर्षा हुने सम्भावना भएकाले बेलैमा तयारी र सचेतना आवश्यक छ।”

उनका अनुसार बुधबारदेखि वर्षा क्रमशः बढ्दै जाने र बिहीबार रातिदेखि पूर्वी नेपालमा व्यापक वर्षा सुरु हुने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले पनि आज जारी बुलेटिनमार्फत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

गत वर्ष असोज १० देखि १३ सम्म देशभर भारी वर्षा हुँदा ठूला नोक्सानी भएको स्मरण गर्दै यस वर्ष पनि त्यस्तै परिस्थितिको सम्भावनाबारे चेतावनी दिइएको हो।

यस्तै भारतले पनि असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बंगाल र बिहार क्षेत्रमा भारी वर्षाको अलर्ट जारी गरिसकेको छ।