इलाम भ्रमण स्थगित : गृहमन्त्री र उर्जामन्त्रीलाई विमान टिकट अभाव


इलाम भ्रमण स्थगित : गृहमन्त्री र उर्जामन्त्रीलाई विमान टिकट अभाव
  • नवकिरण
  • आश्विन २०, २०८२

काठमाडौँ, असोज २० – इलाममा गएको भीषण पहिरोपछि स्थलगत निरीक्षणका लागि गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङको भ्रमण योजना अन्तिम समयमा स्थगित भएको छ।

गृह मन्त्रालयका अनुसार सोमबार बिहान उनीहरू झापा हुँदै इलाम पुग्ने तयारीमा थिए। तर, भद्रपुरसम्मको नियमित उडानको टिकट नपाएपछि भ्रमण रोकिएको हो।

मन्त्रालय स्रोतका अनुसार उनीहरू गृह सचिव, ऊर्जा सचिव र भौतिक पूर्वाधार सचिवसहित पहिरो प्रभावित इलाम क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन जाने तयारीमा थिए। तर उडानमा सिट अभावका कारण भ्रमण तत्कालका लागि रोकिएको र नयाँ मिति तय नभएको बताइएको छ।

गत असोज १८ र १९ गतेको अविरल वर्षाले इलामका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। पहिरोमा परेर तीन दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको पुष्टि भइसकेको छ।

स्थानीय प्रशासनका अनुसार उद्धार र राहत कार्य अझै जारी छन्, भने प्रभावित बस्तीको अवस्थाबारे केन्द्र सरकारको टोलीले अवलोकन गर्ने तयारी गरेको थियो।