नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात


नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात
  • नवकिरण
  • आश्विन २१, २०८२

काठमाडौँ, असोज २१ – नेपालले हाल दैनिक रूपमा औसत १ हजार मेगावाट विद्युत् विदेशी बजारमा निर्यात गर्दै आएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् विदेशमा बिक्री भइसकेको छ।

प्राधिकरणले भारतको रियल टाइम मार्केट (IEX) मार्फत प्रतिस्पर्धात्मक दरमा विद्युत् बिक्री गरिरहेको छ। साथै, हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय सम्झौता अनुसार पनि नियमित रूपमा ऊर्जा आपूर्ति भइरहेको छ।

त्यसैगरी, भारतको प्रसारण संरचना प्रयोग गर्दै नेपालले बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् पठाइरहेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ भने बंगलादेशमा बिक्री अमेरिकी डलरमा भइरहेको प्राधिकरणले जनाएको छ।

नेपालमा विद्युत् उत्पादन बढ्दै गएसँगै खपतभन्दा बढी ऊर्जा विदेशमा बिक्री गर्न सफल भएको प्राधिकरणको भनाइ छ। यसले देशको वैदेशिक आम्दानीमा उल्लेखनीय योगदान गरेको बताइन्छ।