काठमाडौं, असोज २३ – नेकपा एमालेका नेता तथा पूर्वसांसद योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) राहदानी विभागमा फिर्ता गरेका छन्।
भट्टराईले आफूले विभागमा उपस्थित भई पासपोर्ट बुझाएको जानकारी दिएका छन्। उनले प्रतिनिधि सभा विघटन भएपछि कानुनी व्यवस्थाअनुसार राहदानी फिर्ता गरेको बताएका छन्।
राहदानी नियमावली २०७७ को नियम १८ अनुसार, पदमा नरहेका व्यक्तिहरूले एक महिनाभित्र आफ्नो र परिवारका सदस्यका नाममा जारी कूटनीतिक वा विशेष राहदानी विभागमा बुझाउनुपर्ने प्रावधान छ। सो अवधिभित्र फिर्ता नगरिए विभागले पासपोर्ट रद्द गर्न सक्ने व्यवस्था पनि सोही नियमावलीमा उल्लेख गरिएको छ।
सांसद पद समाप्त भएपछि राहदानी फिर्ता गर्ने क्रम अघि बढिरहेको छ। यसअघि निवर्तमान सांसदहरू प्रतिमा गौतम, रमा कोइराला पौड्याल, सपना राजभण्डारी, रघुजी पन्त, कान्तिका सेजुवाल र तोसिमा कार्कीले पनि आफ्ना रातो पासपोर्ट फिर्ता गरिसकेका छन्।