‘के-को एनजिओ?’ भन्दै उठिन् प्रधानमन्त्री कार्की, जेनजीसँगको बैठक तात्यो!


‘के-को एनजिओ?’ भन्दै उठिन् प्रधानमन्त्री कार्की, जेनजीसँगको बैठक तात्यो!
  • नवकिरण
  • आश्विन २५, २०८२

काठमाडौं, असोज २५ – शीतल निवासमा शनिबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी मुभमेन्टका प्रतिनिधिहरूबीच भएको छलफल केही समय तात्तिएको छ। ‘सरकार एनजिओले चलायो’ भन्ने आरोप लगाएपछि प्रधानमन्त्री कार्की झोक्किएको स्रोतले बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छलफल हुने तय भए पनि उहाँ अस्वस्थ भई त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि प्रधानमन्त्री कार्कीले मात्र जेनजी टोलीसँग दुई घण्टा लामो वार्ता गरेकी थिइन्। अस्पतालका अनुसार अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ।

प्रधानमन्त्रीसँगको छलफलमा सुदन गुरुङ, ओजस्वीराज थापा, मिराज ढुंगाना, प्रवेश दाहाल, जितेन्द्र शाह, प्रशान्त पौडेल, अंकित अधिकारी, अभिषेक श्रेष्ठ, जुनल गदाल, अर्जुन शाही, रक्षा बम, प्रदीप ज्ञवाली, युजन राजभण्डारी, आदित्य कर्ण, आकृति घिमिरे, मोनिका निरौला, ओजस्वी भट्टराई, रिजन राना मगर र निकुञ्ज भण्डारी सहभागी थिए। सरकार तर्फबाट कुलमान घिसिङसहित सबै मन्त्री उपस्थित थिए।

जेनजी प्रतिनिधिहरूले आफ्नो आन्दोलनलाई संस्थागत गर्न, सहिद र घाइते परिवारलाई प्राथमिकता दिन र सरकारको संयोजनमा उनीहरूलाई पनि समेट्न माग राखेका थिए। प्रधानमन्त्री कार्कीले ती मागप्रति सहमति जनाउँदै छिट्टै कार्यान्वयन हुने बताइन्।

तर छलफलको बीचमा एक प्रतिनिधिले ‘सरकार एनजिओको हो?’ भनेर प्रश्न गर्दा वातावरण तातिएको सहभागीहरूले बताएका छन्। त्यस प्रश्न सुनेर प्रधानमन्त्री कार्कीले तीव्र प्रतिक्रिया दिएकी थिइन्।

‘के-को एनजिओ? मैले कुन एनजिओमा काम गरेको छु? यहाँ कोही एनजिओमा छन् भने भन्नुस्। अनावश्यक हल्लामा नपर्नुस्,’ भन्दै उनले प्रतिवाद गरेकी थिइन्।

प्रतिनिधिहरूले मन्त्रिपरिषद् विस्तारबारे पनि सोधेका थिए। त्यसमा प्रधानमन्त्री कार्कीले बाहिर चलेका नामहरूमा कुनै सत्यता नभएको स्पष्ट पार्दै जेनजीसँगै सल्लाह गरेर मात्र नियुक्ति गरिने बताइन्।

बैठकमा संविधान, भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध सरकार निरन्तर काम गरिरहेको बताउँदै, “यो जादुको छडी होइन, बिस्तारै परिणाम देखिन्छ,” भनेकी थिइन्।

शिक्षामन्त्री महावीर पुनले घाइतेका परिवारलाई आर्थिक सहयोग र शिक्षामा भइरहेको सुधारबारे जानकारी दिएका थिए। जेनजी प्रतिनिधि मोनिका निरौलाका अनुसार छलफलमा समावेशीताको विषय पनि प्रमुख रूपमा उठाइएको थियो।

छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै प्रतिनिधि मिराज ढुंगानाले निर्वाचनसम्बन्धी एजेन्डा तयार भए पनि राष्ट्रपति अनुपस्थित भएकाले त्यसबारे विस्तृत छलफल हुन नसकेको बताए।